काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
जसअनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।
त्यस्तै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ ।
पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ ।







