Logo

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता हुँदै



काठमाडौँ, २४ चैत । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा नेकपा (मसाल) सँग पनि एकताका लागि वार्ता चलिरहेकाले मसालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरू मार्क्स-लेनिनवाद-माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रियताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्यलगायत पार्टी एकताका आधारहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले जानकारी दिए । उनले पार्टी एकतासँगै नयाँ क्रान्तिको सुरुवात गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए ।

उनले सबै कम्युनिस्टहरूलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरेका छन् । उनले अब क्रान्तिकारी कम्युनिस्टहरू देशको मूल प्रवाह बन्ने दाबी गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताए ।

पार्टी एकताको घोषणा भने आउँदो अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्