झापा, ४ माघ । नेपाली कम्युनिस्ट पार्टीका झापा संयोजक राजु आचार्य ‘अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्। करिब तीन दशकदेखि पार्टी राजनीतिमा सक्रिय रहेका आचार्यले सामाजिक सञ्जालमार्फत २७ वर्ष लामो राजनीतिक यात्रालाई यहीँ टुंग्याएको जानकारी दिएका हुन्।
फेसबुकमा सार्वजनिक गरिएको स्टाटसमा उनले पार्टी नेतृत्व र पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै अब स्वतन्त्र नागरिकको हैसियतमा अघि बढ्ने उल्लेख गरेका छन्। “आजबाट मेरो पार्टीसँगको औपचारिक सम्बन्ध समाप्त भएको छ,” उनले लेखेका छन्।
आचार्यको बहिर्गमनलाई पार्टीभित्र प्रभावशाली नेताको रूपमा चिनिने उनको भूमिका गुम्नुका रूपमा लिइएको छ। पार्टीका केही नेताहरूले यसले संगठनलाई झट्का पुग्ने बताएका छन्।
आचार्यले पार्टी छोड्नुको मुख्य कारण उम्मेदवार छनोट प्रक्रिया रहेको स्पष्ट पारेका छन्। उनका अनुसार स्थानीय तहबाट जित्ने सम्भावना भएका उम्मेदवारहरूको सिफारिस बेवास्ता गर्दै अन्य क्षेत्रका व्यक्तिलाई टिकट दिइएकोमा उनले आपत्ति जनाएका हुन्।
“स्थानीय भूगोल र जनभावना बुझ्ने व्यक्तिलाई अघि सार्नुपर्छ भन्ने मेरो धारणा हो,” उनले भनेका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले स्वाभिमान र आत्मसम्मान कायम राख्न पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्।







