काठमाडौँ, २३ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिएका हुन् । उनले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक लगाउने बताए ।
मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । उनले भने, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्तारै ठिक पार्छौँ ।’







