Logo

नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन्: गृहमन्त्री



काठमाडौँ, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए ।

उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताएका हुन् ।

राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीब्र पार्नु आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो । तर हामीले भनेजस्तो रुपमा कार्यभार निभाउन सकेका छैनौँ ।’ उनले भने, ‘त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।’

प्रतिक्रिया दिनुहोस्