काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको बताए ।
नेताहरूको व्यक्तिगत स्वार्थकै कारण संविधान कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ । उनले पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार, संसद्, न्यायालय, राज्यका संवैधानिक निकायहरूसमेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थमा लागेको बताएका हुन् ।
नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने पनि बताए ।







