Logo

नेता गौतमको तस्बिर पुनः भाइरल, गालीको वर्षा सूर्य थापामा !



काठमाडौँ, २१ मंसिर । नेकपाका केद्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पेसबुकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले सडक पार गर्दै गरेको तस्बिर पोस्ट गरेपछि अहिले भाइरल भएको छ । नेता गौतमको यो तस्बिर दोस्रो पटक भाइरल भएको हो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोस्रो प्रधानमन्त्रित्वकालमा गृहमन्त्री भएका गौतमले सात वर्षअघि हतारमा सडक पार गर्दा ट्राफिक उलंघन गरेका थिए । त्यसबेला पनि बामदेव गौतमको यो तस्बिर भाइरल भएको थियो । सोसल मिडियामा गौतमको यो तस्बिरका कारण निकै आलोचना भएको थियो । तर, अहिले त्यही तस्बिर प्रधानमन्त्रीका सल्लाहकार थापाले पोस्ट गरेपछि गौतमको होइन, थापाको तीब्र आलोचना भएको छ ।

नेकपाको शनिवार भएको स्थायी समिति बैठकमा पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले गोरखापत्र दैनिक पार्टी एक गुटको भजन गाउन थालेको आरोप लगाएका थिए । नेता खनालले गोरखापत्र दैनिक राज्यको सम्पति भएकाले गुटका लागि दुरुपयोग गर्न नहुने भन्दै आलोचना गरेका थिए ।

पार्टी उपाध्यक्ष गौतमले भने प्रधानमन्त्रीका सललाहकार थापाको कार्यशैलीको आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीले दुई दस्तावेजलाई समेटेर नयाँ दस्तावेज बनाउन गौतमलाई कार्यदलको संयोजकको प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेका गौतमप्रति सल्लाहकार थापाले को कस्तो ? तस्बिर काफी छ भन्ने लेखेर फोटो पोस्ट गरेका थिए ।

थापाले पोस्ट गरेको यो तस्बिर भाइरल त भयो तर गाली र आलोचनाको पात्र गौतम नभएर थापा स्वयम् भएका छन् । पार्टी शीर्ष नेताप्रति सामाजिक सञ्जालमा क्षुद्र आलोचना गर्न खप्पिस थापा प्रधानमन्त्रीका आलोचकको तल्लो स्तरमा गाली र टिप्प्णी गर्ने गरेका छन् ।

प्रधामन्त्रीका सल्लाहकार थापाको बोली प्रधानमन्त्री ओलीकै शैलीको भएको धेरैको टिप्पणी छ । उनी पार्टी नेतालाई घोचपेच गर्ने, अमर्यादित र तल्लोस्तरको भाषामा आलोचना गर्न माहिर छन् । उनले सबै भन्दा बढी पार्टी अध्यक्ष प्रचण्डको आलोचन गर्ने गरेका छन् । एक महिना अघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको निकै कडा आलोचना गरेका थिए । थापाको टिप्पणी समाचारको विषय बनेको थियो ।

थापाले आफ्नो फेसबुकमा आज नेता गौतमको तस्बिर पोस्ट गरे लगतै उनको तीब्र आलोचना भएको छ । थापालाई कतिपयले तल्लोस्तरको गाली गरेका छन् । पार्टीका कायकर्तादेखि स्वतन्त्र व्यक्तिले पनि थापाको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको दलाली गरेको, चाकरी गरेको र प्रधानमन्त्रीका आलोचकको हुर्मत लिएको जस्ता टिप्पणी मात्र छैनन्, अपशब्द प्रयोग गरेर गाली पनि गरिएको छ । प्रधानमन्त्रीका यस्ता सल्लाहकार भएपछि.., आफ्नै पार्टीका नेता विरुद्ध तल्लो स्तरको भाषाका आलोचना भएका छन् ।

थापाले पोस्ट गरेको तस्बिरको स्क्रिन सर्ट गरेर कतिपयले आलोचनात्मक पुनः पोस्ट गरेका छन् । कतिले आलोचना गर्दै सेयर गरेका छन् । सेयर भएका तस्बिरमा पनि हजारौंले थापाको तिखो आलोचना र टिप्पणी गरेका छन् । थापाले भने आफ्नो पेसबुक वालबाट तस्बिर हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्