सुर्खेत, १५ भदौ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताएका छन् ।
सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताएका हुन् ।
नेता खनालले तत्कालीन नेकपा विघटन र त्यसपछि नेकपा (एमाले) विभाजन हुनुमा तत्कालीन मुख्य नेतृत्व नै जिम्मेवार रहेको बताए ।
“नेतृत्वले आफ्नो गुटलाई काखा अरुलाई पाखा लगाउने, कम्युनिष्ट आचरण, जीवनशैलीबाट च्यूत हुने र पार्टीलाई सही कार्यदिशामा हिँडाउनुको साटो एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेकाले गम्भीर समस्या पैदा भयो”, उनले भने, “अन्तरविरोधबाट सिर्जित समस्याको समाधान नगरी हैकमवादी, निरङ्कुश कार्यशैलीले एउटै पार्टीमा रहन सम्भव भएन, धेरै प्रयास गरियो, अन्ततः समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देख्यौँ ।”
उनले पार्टीले छोटो अवधिमै सङ्गठन निर्माणमा ठूलो सफलता प्राप्त गरेको टिप्पणी गर्दै भने, “क्रान्तिको ठूलो उभार हाम्रो सामु छ, इमान्दार भएर समयको गति बुझ्नसके हाम्रो कार्यदिशा र नीति एवं सिद्धान्त स्थापित हुनेछ, आम जनता आकर्षित हुने स्थिति छ ।” नेता खनालले कम्युनिष्ट पार्टीबीचको एकताबाट मात्र नेपालमा तीन ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गरेका हुन् ।







