काठमाडौँ, ११ मंसिर । नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
पाकिस्तानमा जारी प्रतियोगितामा मंगलवार लगातार दोस्रो जित हात पार्ने क्रममा नेपाली टोलीले दक्षिण अफ्रिकामाथि ११ रनको जित हात पारेको हो ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउँन सक्यो । दक्षिण अफ्रिकाका लागि बुहारी भिडलाले ७१ बलमा ८ चौकाको सहयोगमा नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे पनि टोलीको हार टार्न भने सकेनन् । दक्षिण अफ्रिकाका दुवै खेलाडी रन आउट भएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि नरेश चौधरीले ५७ बलमा ४ चौकाको सहयोगमा ८० तथा सागर लामाले २९ बलमा ४० रन जोडेका थिए ।
पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरमा हराएको थियो ।
६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ । समूह चरणको अन्तिम खेलमा बुधवार नेपालले आयोजक पाकिस्तानको सामना गर्नेछ ।