काठमाडौं, २८ असार । नेदरल्याण्डस् र इटाली सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट भएका छन्। टी-२० विश्वकपको युरोप छनोटबाट नेदरल्याण्डस् र इटाली विश्वकप खेल्ने भएका हुन्।
शुक्रबार भएको अन्तिम खेलमा नेदरल्याण्डस्ले इटालीलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर टी–२० विश्वकप स्थान बनायो भने इटालीले दोस्रो स्थानमा रहेर टी-२० विश्वकपमा छनोट भएको हो। रनरेटमा जर्सीलाई पछि पार्दै इटाली छनोट भयो। इटाली पहिलो पटक टी२० विश्वकपमा छनोट भएको हो।
शुक्रबारको खेलमा इटालीले दिएको एक सय ३५ रनको लक्ष्य नेदरल्याण्डस्ले १६.२ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो। नेदरल्याण्डस्का म्याक्स ओ दाउदले ४७ रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इटालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो।
योसँगै टी-२० विश्वकपको युरोप छनोटको टुंगो लागेको छ। नेदरल्याण्डस् ४ खेलमा तीन जितसहित अंक तालिकाको शीर्ष स्थानमा रह्यो भने इटालीले चार खेलमा दुई जित निकाल्यो। चार खेलमा दुई जित निकालेको जर्सी भने रनरेटमा पछि पर्दै विश्वकपमा स्थान बनाउन सकेन।
बलियो मानिएको स्कटल्याण्ड पनि आगामी वर्ष हुने टी-२० विश्वकप खेल्न बाट वञ्चित भएको छ। अन्तिम खेलमा जर्सीसंग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड बाहिरिएको हो। स्कटल्याण्डले चार खेलमा एक मात्र जित हासिल गर्यो।
आगामी वर्षको टी-२० विश्वकप भारत र श्रीलंकामा हुने तय भएको छ।