Logo

नेदरल्याण्ड्ससँग नेपाल पराजित



काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित भएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेदरल्याण्ड्सको जितमा विक्रमजित सिंहले अविजित ५८ रन बनाएका थिए ।

७१-२ को अवस्थाबाट विक्रमजितले तेस्रो विकेटका निम्ति साइब्रान्ड एन्जेलब्रेटसँग १०२ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याएका थिए । सिंहसँगै अविजित रहेका एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडेका थिए भने मिचेल लेभिटलाई ३९ र म्याक्स ओडाउद २८ रन बनाएका हुन् ।

नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन बनाएका थिए भने करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेख १७ र रोहित पौडेलले १६ रन बनाएका हुन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र आर्यन दत्तले समान तीन विकेट लिएका थिए भने बास डे लिडेले दुई र रोइलोफ भान डेर मेर्वेले एक विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्