काठमाडौँ, २३ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्था नभएको बताएका छन् ।
बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटोमा भने नपुग्ने बताएका हुन् ।
उपाध्यक्ष ढकालले अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजस्व सङ्कलन गर्ने, देशमा पूर्वाधारको विकास गर्ने र देशमै उत्पादन भएका वस्तुलाई धेरैभन्दा धेरै उपयोग गर्न नसकेसम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन । नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा पुग्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’
त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले बैंकहरूले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याज दर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरेका छन् । उपाध्यक्ष ढकालले बैंकहरूले जबसम्म व्यवसायले थाम्न सक्ने ब्याज दर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने बताए ।