Logo

नेपालका तीन जलविद्युत् आयोजना आईएचए ब्लु प्लानेट पुरस्कार २०२५ का लागि छनोट



काठमाडौं, ८ साउन । नेपालका तीन जलविद्युत् आयोजना – माईबेनी जलविद्युत् आयोजना, चुवा खोला क्यास्केड जलविद्युत् आयोजना र अपर चुवा लुरुप्या खोला जलविद्युत् आयोजना – प्रतिष्ठित अन्तर्राष्ट्रिय जलविद्युत् संघ (IHA) को ब्लु प्लानेट पुरस्कार २०२५ का लागि छनोट भएका छन्। यी आयोजनाहरूको छनोटले नेपाल दिगो जलविद्युत् विकासतर्फ दृढ कदम चालिरहेको प्रमाणित गर्दछ। यसले देखाउँछ कि अब जलविद्युत् विकास त्यतिखेर मात्र स्वीकार्य हुन्छ, जब त्यो दिगोपनको मापदण्डमा खरो उत्रन्छ।

ब्लु प्लानेट पुरस्कारले Hydropower Sustainability Standard (HSS) अन्तर्गत मूल्याङ्कन भएर १ जुलाई २०२३ देखि १३ जून २०२५ भित्र दिगोपनमा उत्कृष्टता देखाएका विश्वभरका जलविद्युत् आयोजनाहरूलाई मान्यता दिन्छ। यस वर्षको विजेता ९–१० सेप्टेम्बर २०२५ मा पेरिसस्थित UNESCO House मा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प स्टोरेज जलविद्युत् फोरममा घोषणा गरिनेछ।

१४ देशीय छनोट सूचीमा तीन नेपाली आयोजना पर्नु नेपालको वातावरणीय संरक्षण र सामाजिक उत्तरदायित्वमा आधारित ऊर्जा पूर्वाधार निर्माणप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर बनेको छ।

आईएचएका प्रमुख कार्यकारी अधिकृत एडी रिच भन्छन्: “नेपालका यति धेरै आयोजनाहरू HSS अपनाएको देख्दा खुसी लाग्यो। नेपाल हिमाली देश हो र पानीको प्रशस्त स्रोत छ। ती स्रोतहरूको उपयोग दिगो तरिकाले गर्दै विश्वकै द्रुत गतिमा जलविद्युत् विकास गरिरहेको नेपालले तीन आयोजनामार्फत ब्लु प्लानेट पुरस्कारको छनोटमा पुग्नु दिगोपनप्रतिको उसको प्राथमिकता हो भन्ने देखिन्छ। आईएचएले काठमाडौंबाट हिमालय कार्यालय स्थापना गरेर नेपाललाई सहयोग गरिरहेको छ। सबै आयोजक र परियोजना टोलीलाई बधाई!”

नेपालका आयोजनाहरूको संक्षिप्त विवरण:
माईबेनी जलविद्युत् आयोजना (९.५१ मेगावाट, इलाम):
गोल्ड प्रमाणपत्र प्राप्त – वातावरणीय व्यवस्थापन, स्थानीय सहभागिता र सञ्चालनमा उच्च स्तरको दिगोपन।

चुवा खोला क्यास्केड HEP (९८.१७ मेगावाट) र
अपर चुवा लुरुप्या खोला HEP (११०.२० मेगावाट), हुम्ला जिल्ला:
दुवै आयोजनाले “Certified” मान्यता पाएका छन् – सबै विषयमा अन्तर्राष्ट्रिय राम्रो अभ्यास अपनाइएको पुष्टि।

नेपालका थप चार आयोजना हाल HSS मूल्याङ्कन प्रक्रियामा छन्, जसले देशको दिगो ऊर्जा योजनातर्फको प्रतिबद्धता झल्काउँछ।

हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (HSA) का उपकार्यकारी निर्देशक एलेन किलाजियान भन्छन्: “नेपालमा भइरहेको प्रगति देख्दा प्रेरणा मिलेको छ। यहाँ गुरुत्व र पानीको abundant स्रोत भए पनि अझै थुप्रै ESG (Environment, Social, Governance) जोखिमहरू छन्। तर आयोजनाहरूका टोलीले स्थानीय समुदायसँग विश्वास निर्माण गर्दै जलवायु प्रतिरोधी योजना अघि बढाइरहेका छन्। यही हो HSS को उद्देश्य।”

उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेल भन्छन्: “पर्यावरण, सामाजिक र सुशासन पक्षहरूलाई व्यवसायमा समाहित गर्नु अब विकल्प होइन, पृथ्वी र भावी पुस्ताप्रति हाम्रो उत्तरदायित्व हो। माईबेनी आयोजना ब्लु प्लानेट पुरस्कारको छनोटमा परिनु हाम्रो प्रयासप्रतिको मान्यता हो।”

आईएचएका उपाध्यक्ष तथा बिजबेल संस्थापक सुशील पोखरेल भन्छन्: “नेपालले HSS अपनाउँदा हामीले उत्तरदायी ऊर्जा विकासप्रतिको प्रतिबद्धता देखाएका छौं। यसले न केवल नेपाललाई, तर सम्पूर्ण दक्षिण एशियालाई देखाउन सघाउँछ कि जलविद्युत् दिगो र समावेशी विकासको आधार बन्न सक्छ।”

नेपाल ऊर्जा आत्मनिर्भरता र क्षेत्रीय एकता तर्फ अघि बढ्दैछ, जलवायु संकटसँग जुध्दै पारिस्थितिक तन्त्रको संरक्षण र समुदायको समुन्नति गरिरहेको छ। मुलुकले आफ्नो नदीहरूको सदुपयोग गर्दै दिगो र स्वच्छ ऊर्जा उत्पादनको प्रेरणादायी इतिहास निर्माण गर्दैछ।

HSS एउटा कठोर मूल्याङ्कन र प्रमाणन प्रक्रिया हो जसले जलविद्युत् विकासलाई दिगोपन, पारदर्शिता र सामाजिक उत्तरदायित्वमा आधारित बनाउन सहयोग गर्छ। यसले जलविद्युत् क्षेत्रको दिगो विकासलाई मार्गदर्शन गर्छ।

IHA एक गैर–नाफामूलक संस्था हो, जसले जलविद्युत्को दिगो विकासमा काम गर्छ। यसले नविकरणीय ऊर्जा प्रणाली, जल स्रोत व्यवस्थापन र जलवायु समाधानमा जलविद्युत्को भूमिकाबारे जानकारी निर्माण र प्रवर्द्धन गर्छ।

प्रतिक्रिया दिनुहोस्