Logo

नेपालका नेताहरू बिपीको विचारबाट दीक्षित छन्: प्रधानमन्त्री



;

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन् ।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका संस्थापक कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य र सर्वमान्य नेता हुनुभएकामा कसैको दुईमत नरहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सबै दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि आफूले प्रयास गरिरहेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री दाहालले वर्तमान सत्तागठबन्धन पूरै कार्यकालसम्म रहने र यसैबाट जनतालाई समृद्धि प्राप्त हुने बताउँदै सरकारका गरेका राम्रा कामको कांग्रेसले पनि निर्धक्क साथ अपनत्व र स्वामित्व लिन सक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

वर्तमान सरकारले सामाजिक न्याय, मिटरब्याजी पीडितलाई न्याय दिने, नागरिकताको समस्या समाधान, श्रमिकका समस्यालगायत विषयमा राम्रा काम भएको उनले जानकारी गराए । “यसबाहेक जनतालाई दु:ख परेका बेला र ठाउँमा सरकारबाट तत्काल सक्दो सहयोग गर्ने काम भएका छन्,” प्रधानमन्त्री दाहालले भने । उनले शुक्रबार ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनाका सम्बन्धमा दु:ख व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको पीडित परिवारलाई राहत दिने काम अघि बढेको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्