काठमाडौँ, ६ असार । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी)को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो ।
नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो । बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो ।
वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए । भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।







