Logo

नेपालका ४३ औँ प्रधानमन्त्री बने बालेन्द्र शाह: यस्तो छ इन्जिनियरदेखि कार्यकारी नेतृत्वसम्मको यात्रा



काठमाडौं, १३ चैत । नेपालको ४३ औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलका नेताका रूपमा राष्ट्रपति पौडेलले शाहलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका पुत्र हुन् । उनको जन्म वि.सं. २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुर्ख्यौली घर महोत्तरीको एकडारा हो ।

‘र्‍याप आर्टिस्ट’का रूपमा समेत परिचित शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए ।

काठमाडौँ महानगरको प्रमुख रहँदा उनले पर्यटन तथा अर्थतन्त्र प्रवर्द्धनका लागि नेवा संरचनाको संरक्षणमा योगदान दिएका थिए । सहरी शासन, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमा समेत उनको भूमिका उल्लेखनीय रहेको छ ।

महानगर क्षेत्रभित्रका अवैध संरचना हटाउने, फुटपाथ व्यवस्थापन तथा सहरी अनुशासन कायम गर्ने कार्यमा उनले सक्रिय भूमिका खेलेका थिए । साथै, भूकम्पपछिको पुनर्निर्माण तथा सहरी व्यवस्थापनमा पनि उनले योगदान दिएका छन् । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण कार्यमा उनको सक्रिय सहभागिता रहेको थियो । पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव हासिल गरेका शाहले संरचनागत सुरक्षा, सम्पदा संरक्षण र पर्यटनमार्फत आर्थिक विकासमा जोड दिएका छन् ।

दुई दर्जनभन्दा बढी र्‍याप सिर्जना गरेका शाहका गीतहरू भ्रष्टाचारविरुद्धको आवाज, सुशासनको अपेक्षा तथा युवा र सामाजिक मुद्दामा केन्द्रित छन् । उनका सिर्जनामा बेरोजगारी, असमानता, राजनीतिक विकृति र राज्य प्रणालीप्रतिको प्रश्न प्रतिबिम्बित हुन्छ ।

संविधानसभाको दोस्रो निर्वाचनपछि उनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता अभिव्यक्त गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा समर्थन जनाएका शाहमाथि अहिले आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी आएको छ । नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई संस्थागत रूपमा सम्बोधन गर्नु उनका लागि प्रमुख चुनौतीका रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्