Logo

नेपालकै होचो ठाउँ कचनकबलमा माओवादीले स्वास्थ्य महोत्सव गर्ने



झापा, ५ असोज । नेकपा (माओवादी केन्द्र) कचनकबल गाउँपालिका समितिले तीन महिने विशेष रुपान्तरण अधियान अन्तर्गत स्वास्थ्य महोत्सव आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रले असोज १३ गते लक्ष्मी क्याम्पस बनियानीमा स्वास्थ्य महोत्सव आयोजना गर्ने भएको हो । ओम शाई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा स्वास्थ्य महोत्सव हुने माओवादी केन्द्र ३ नम्बर क्षेत्रिय इन्चार्ज डिल्ली घिमिरे हिक्मतले जानकारी दिए ।

स्वास्थ्य महोत्सवमा सर्जन डा. शशि सिंह र डा. देवानन्द, फिजिसियन डा. अमर कपुरी र डा. श्रवण राउत, स्त्री रोग विशेषज्ञ डा. जयकुमार ठाकुर र डा. एलिजा गौतम, नाक, कान र घाँटी रोग विशेषज्ञ डा. निरज रौनियार, बाल रोग विशेषज्ञ डा. कुन्दन यादव र डा. सुवास बस्नेत, हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रविण तिमिल्सिना र दन्त रोग विशेषज्ञ डा. प्रियङ्का यादवले स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएका छन् । यसैगरी मेची आँखा अस्पतालका स्वास्थ्यकर्मीले आँखाको परीक्षण तथा उपचार गर्ने इन्चार्ज घिमिरेले बताए ।

महोत्सव भएको उपचार तथा परीक्षणमा थप उपचार गर्नु पर्ने भए पाथीभरा अस्पतालले विशेष सहुलियत दिने भएको छ । असोज १३ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्य परीक्षण हुने भएको छ ।

महोत्सवमा आत्महत्या निरुत्साहन गर्ने उद्देश्यले गोलमेच सम्मेलन हुने भएको छ । गोलमेचमा मनोचिकित्सक डा.मधुर बस्नेत र डा. सन्दर्भ अधिकारीले आत्महत्या निरुत्साहन सम्बन्धी विचार राख्ने छन् ।

यसैगरी नागरिकको स्वास्थ्य अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई हुने भएकोे छ । सार्वजनिक सुनुवाईमा गाउँपालिका पादधिकारी तथा स्वास्थ्य शाखाका प्रतिनिधिले जवाफ दिने कार्यक्रम रहेको छ ।

स्थानीय साहित्यकार तथा कलाकारको अगुवाईमा महोत्सव स्थलमा साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्