Logo

नेपालको कम्युनिष्ट आन्दोलन- गुट, फुट र जुट



सन् १९५६ मा स्टालिनको मृत्युपछि निकिता खुश्चेवले कम्युनिष्टका आधारभूत सिद्धान्त छाडी संशोधनवादी विचार अगाडि ल्याए । उनले माक्र्सवादमाथि सैद्धान्तिक आक्रमण गरी रसियन कम्युनिष्ट पार्टीलाई पुँजीवादी पार्टीमा परिणत गर्ने आधार तयार गरे । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा खुश्चेवको यो कदमलाई संशोधनवादी कदमको रुपमा लिइन्छ ।

लेनिनको सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परित्याग गर्दै बर्नस्टीन र काउत्स्कीले शान्तिपूर्ण संक्रमणको सन्दर्भमा “जनताको पार्टी” र “जनताको राज्य” जस्ता अवधारणा अघि सारे । बर्नस्टीन र काउत्स्कीको अवधारणा विरुद्धमा संसार भरका मक्र्सवादी–लेनिनवादी एक भए ।

माओत्सेतुङले ती क्रान्तिकारीको अगुवाई र नेतृत्व गरेको पाइन्छ । यसैक्रममा माओले भनेका थिए “संसदीय मार्गबाट समाजवाद हासिल हुने कुरा असम्भव र धोका मात्र हो ।” यसरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संसदीय र शान्तिपूर्ण संक्रमणको बाटोलाई संशोधनवादीको रुपमा व्याख्या गरिएको छ ।

बिक्रम सम्वत् २००६ साल वैशाख १० गते लेनिन जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीले नेपाली समाजको आमुल परिवर्तन गरी सामाजिक तथा राजनीतिक शोषण, दमन र उत्पीडनको अन्त्य गर्न संघर्षको कार्यक्रम अघि सारेको थियो । नयाँ जनवादी क्रान्तिको कार्यक्रम अघि सारेको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा माक्र्सवादको प्रयोग गर्ने सन्दर्भमा अनेक चुनौती र द्वन्द्व भएका छन् । कम्युनिष्ट पार्टी पटक पटक विभाजित भए । कहिले सैद्धान्तिक वैचारिक त कहिले व्यक्तिगत टकरावले विभाजित भए । नेपालका कम्युनिष्ट पार्टी संवैधानिक राजतन्त्र स्वीकार गर्ने कि नगर्ने ? बहुदलीय व्यवस्था मान्ने कि नमान्ने ? सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष ? जस्ता बिवादले पार्टी विभिजित हुँदै आए ।

बिक्रम सम्वत् २०१४ सालमा भएको दोस्रो महाधिवेशनसम्म आइपुग्दा नेकपा भित्रको अन्तरसंघर्ष निकै उत्कर्षमा पुग्यो र राजावादी विचार पार्टीमा मौलाउँदा नेपालको कम्युनिष्ट आन्दोलनले गम्भीर क्षति व्यहोर्नु परेको थियो ।

बिक्रम सम्वत् २०१७ सालको राजा महेन्द्रको सत्ता हस्तक्षेपपछि भारतको दरभांगा प्लेनममा तीब्र राजनीतिक अन्तरविरोध चलेको थियो । केशरजंग रायमाझी संसदीय व्यवस्थाको लाइनमा थिए भने पुष्पलालको विघठित संसदको पुनरस्थापाको लाइन थिए । र, मोहनविक्रम सिंह संविधानसभाको चुनावको लाइन थिए । प्लेनमले मोहनविक्रमको लाइनलाई पारित गरे पनि केन्द्रीय समितिमा एक्लो भएको केशरजंगको लाइनलाई नेतृत्वमा स्थापित गर्यो ।

नेपालको कम्युनिष्टमा अराजकतावादी कार्यशैलीको आरम्भ यहिँबाट विकास भएको पाइन्छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै विकास भएको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको दुई धार (रुस र चीन) को प्रत्यक्ष असर नेपाल कम्युनिष्ट पार्टीमा पनि परिसकेको थियो । केन्द्रको जिल्लासँग सम्पर्क टुट्दै जाँदा २०२३ साल तिर नेपालमा कम्युनिष्ट पार्टी बिघठनको संघारमा पुगेको हो ।

केन्द्रसँग असहमति जनाउँदै अघि बढेको पूर्व कोशी प्रान्तीय कमिटीले वर्गशत्रु खतम गर्ने सशस्त्र संघर्ष भनेर २०२८ सालमा भारतको सशस्त्र विद्रोहको नक्कल गर्दै छेडिएको झापा विद्रोहलाई “उग्र बामपन्थी भडकाव” को संज्ञा दिँदै कम्युनिष्ट पार्टीले स्थिरता र अग्रगमनका लागि ठूलो मूल्य चुकाउँदै आन्तरिक संघर्ष गर्नु परेको थियो ।

२०३६ सालको जनमत संग्रहको विषय र त्यसपछिका पञ्चायती चुनावलाई उपयोग गर्ने कि बहिस्कार गर्ने ? भन्ने विषयहरुले बिवाद बढ्दै जाँदा अन्ततः नेपाली बाम राजनीति बिभाजनको दिशा तर्फ उन्मुख भएको पाइन्छ । केन्द्रीय न्यूक्लस हुँदै अघि बढेको कम्युनिष्ट पार्टी चौथो÷पाँचौ महाधिवेशन हुँदै अगाडि बढ्दै जाँदा विभिन्न भड्काव र अवसरवादी प्रवृत्ति हावी भए ।

यस्तो प्रवृत्तिको विकासले बाम शक्तिमा गलत चिन्तन र संस्कार मौलिउँदै गम्भीर राजनीतिक दुर्घटनासम्म हुन पुग्यो । यस्ता आरोह अवरोह पार गर्दैगर्दा अन्तर्राष्ट्रिय रुपमा समाजवादी मुलुक ध्वस्त हुँदै गएका थिए । त्यो समयमा नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न युद्ध, हिंसा र जनआन्दोलनको चरण हुँदै गुज्रिरहेको थियो ।

झापा विद्रोह र माओवादी जनयुद्धको दौरानमा केही सकारात्मक पक्ष होलान र कति नकारात्मक पनि होलान् । २०४६ को परिवर्तन पछि तत्कालिन नेकपा एमाले भित्र जनताको बहुदलीय जनवाद कि नयाँ जनवाद ? भन्न्ने कार्यक्रमका सन्दर्भमा लामो बहससमेत भयो । जसले विभाजनको विजारोपण गर्यो र अन्ततः नेकपा एमाले विभाजित हुन पुग्यो ।

विभाजन र एकता नेपालको कम्युनिष्ट आन्दोलनको विशेषता जस्तै भएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन कमजोर भइरहेको अवस्थामा नेपालमा भने प्रतिस्पर्धाबाट जनमतमा अब्बल सावित भइ कम्युनिष्ट आन्दोलन प्रमुख शक्तिको रुपमा स्थापित छ ।

जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रुपमा स्वकिार गर्ने नेकपा एमाले र २१ औँ शताब्दीको जनवादको आधारमा आफूलाई परिमार्जित गर्दै आएको नेकपा (माओवादी केन्द्र) वीच एकता गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएसकेको छ । नेकपमा निर्वाचनमा ठूलो पार्टी भए सरकारको नेतृत्व गरिरहेको छ ।

दुई पार्टी बीचको एकता पानीमा चिनी मिले जस्तो वा पानीमा बालुवा मिले जस्तो हो भन्ने अझै सावित हुन सकेको छैन । पार्टीका सैद्धान्तिक र राजनीतिक विषयमा मतैक्यता नहुन सक्छ । पार्टी सैद्धान्तिक विषयमा बहस र छलफल निरन्तर हुने विषय हुन् । यि सवालको अन्तिम निराकरण पार्टी अधिवेशनले अवश्य गर्नेछ ।

तर, पार्टीको विचार सिद्धान्त भन्दा बाहिर गएर व्यक्तिगत रुपमा गुट उपगुटको निर्माण विकास र विस्तार गर्नु प्राप्त उपलब्धी पनि गुमाउनु हो । गुटउपगुटको छायाँ र प्रभाव पार्टीमा सँधै पर्ने हो भने जनताले क्षमादान गर्ने छैनन् ।

कार्ल माक्र्सले भनेका छन्, “मुसा समात्नको लागि बिरालोको जरुरी अवश्य हुन्छ तर बिरालो कालो वा सेतो नै हुनुपर्छ भन्ने मान्यता राख्नु गलत हुनेछ ।” अर्थात मुख्य कुरा पार्टी कम्युष्टि आदर्श र सिद्धान्तमा आधारित हुनु पर्छ । यसलाई नेपाल कम्युनिष्ट पार्टीले स्मरण गरोस ।

आउन लागेको कार्ल माक्र्सको ५ मे २०२० हुने २०२ औँ जयन्तीमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्ना आदर्श, मार्गदर्शक सिद्धान्त र एकताकासाथ प्रस्तुत हुन सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्