काठमाडौं , १० जेठ । नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । याे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव ९४ प्रतिशत हो ।
२०७८ सालमा भएको जनगणना अनुसार यो ऋण भाग लगाउँदा प्रतिव्यक्ति करिब ९० हजार रुपैयाँ हुन आउँछ ।
वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै ४ खर्ब रुपैयाँ ऋण उठाएको छ । पुरानो ऋणको साँवा ब्याज भुक्तानीमै ३ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ । आन्तरिक ऋण प्राप्तिको प्रगति ९१ दशमलव २५ प्रतिशत र बाह्य ऋण प्राप्तिको प्रगति ४१ दशमलव ३३ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कुल ऋण सेवा खर्च ५ दशमलव ०५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। सरकारको वार्षिक लक्ष्य अनुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम उठेको छ ।