बङ्गलादेश, ३२ साउन । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ ।
सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ ।
अहिलेलाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभीएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । त्यही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहे पनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए ।
इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको छ । कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । यसलाई निष्कर्षमा पुर्याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बङ्गलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्त्वपूर्ण हो ।
यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ । अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरेका थिए । ‘हामीले अनुमति पाएको खण्डमा भारत र बङ्गलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ’, उनले भने, ‘यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ ।’







