काठमाडौँ, ९ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन् । उनले नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग परामर्श गरेको भन्दै त्यो संविधान अनुकूल नभएकोसमेत आरोप लगाएका छन् ।
अध्यक्ष भट्टराईले बिहीबार सामाजिक सन्जालमार्फत् चुनावको मुखमा नागरिकता विधेयकबारे राष्ट्रवादी उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोजेको भए त्यो झन् गलत हुने बताएका छन् ।
‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन,’ उनले भनेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन !’
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षा अधिकारीहरुसँग छलफल गरेकी थिइन् ।







