काठमाडौँ, २७ असोज । छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि भारतमा बिजुली अभाव छ ।
पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका आलटालमा सीमित छ । भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ । यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन् ।
पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६ मेगावाट बिजुली किन्न भारतलाई आग्रह गरिरहेको छ । प्राधिकरणले गत जेठदेखि अहिलेसम्म पाँच पटकसम्म यस्तो आग्रह गरेको छ । तर भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छैन । विद्युत् व्यापारमा भारतीय सरकारले यही निकायलाई अधिकार दिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।







