काठमाडौँ, १३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोश्रो खेलमा नेपाल ७१ रनले विजयी भएको छ ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भएको हो । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।
आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भएका थिए ।
नेपालका लागि सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट लिएका हुन् ।
त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए ।
त्यस्तै कुशल मल्ल ३४, कप्तान रोहित पौडेल ३३, कुशल भुर्तेल २५ र सन्दीप जोरा २१ रनमा आउट भएका थिए ।
आयरल्यान्ड ‘ए’ का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए भने फिन ह्यान्ड र गेभिन होईले १-१ विकेट लिएका थिए ।