काठमाडौँ, १२ माघ । नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब रुपैयाँमा झरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गएको मंसिर मसान्तसम्म आन्तरिक र बाह्यगरी नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँमा झरेको हो ।
गएको असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार प्रतिव्यक्तिमा भाग लगाउने हो भने ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ ।
गएको असारभन्दा मंसिरमा सार्वजनिक ऋण कम हुनुको कारण पहिलो चौमासिकमा सरकारले गरेको सावाँ-ब्याज भुक्तानी तथा आर्थिक वर्षमा लक्ष्यअनुसार ऋण प्राप्ति भइनसक्नु हो ।
मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । यसैबीच गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पौषसम्ममा विद्युतीय गाडी आयात ५० दशमलव ८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
गएको वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा आयात भएको थियो । चालु आर्थिक वर्ष ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा आयात भएको विभागको तथ्यांक छ ।







