Logo

नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति



फाइल तस्बिर

काठमाडौँ, १९ भदौ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ ।

नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएकोमा भारतले सम्झौतालाई औपचारिक रूप दिएर मन्त्रिपरिषदबाटै पारित गरेको हो ।

भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पनि भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको उल्लेख गर्दै बिजुलीको क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हुने बताएका छन् । भारतको यो निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले उल्लेख गरेका हुन् ।

भारतीय मन्त्रिपरिषद्ले बिजुली खरिद सम्झौता स्वीकृत गरेको जानकारी प्राप्त भएको नेपालको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भारतको यो निर्णय नेपालको आर्थिक विकासका लागि कोशेढुङ्गा साबित हुने प्रधानमन्त्री कार्यालयले जनाएको नवभारत टाइम्स ले उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालले जलविद्युत् क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको र जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्र्याउने वातावरण सिर्जना गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्