Logo

‘नेपालगन्ज- १० के’ दौडमा आर्मीका मुकेश र नरैनापुरकी गीता प्रथम



धम्बोझी, असोज ४ गते । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१।०७।२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बन्नुभएको हो । यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय हुनुभयो । सन्तोषले ३२।४८।४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२।५४।६३ मिनेटमा दौड पूरा गरि तृतीय हुनुभएको होे ।

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन दशैंमा दस इभेन्ट अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो हुन सफल हुनुभयो । उहाँले ५९।१६।५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१।०६।३७ मिनेटमा दुरी पूरा गरि दोस्रो हुनुभएको छ । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय स्थान हासिल गर्नुभयो ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । विजेताहरुलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गर्नुभएको हो । रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताउनुभयो । उहाँले भन्नुभयो, ” मैले उपाधि नै जिते । इतिहास बनाउने अवसर पाएँ । रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ । “

पहिलोपटक ठूलो इभेन्टमा भाग लिनुभएकी बाँके नरैनापुरकी गीता साहुले आफूले नसोचेको नतिजा हात पार्दा निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो ,” पहिलोपटक यति धेरै पैसा जितेकी छु । यो पैसा आमालाई दिन्छु । अब त अझै धेरै खेल्छु  “

भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८।०८।७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८।५६।२३ मिनेटमा लिंदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९।१९।२५ मिनेट लिँदै तेस्रो हुनुभएको छ ।

लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गर्नुभएको छ । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफू दौडिरहेको प्रतिक्रिया दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दौडको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्