Logo

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँछु: गुटेरेस



काठमाडौँ, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तक्रिया गरेका थिए ।

उक्त अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए ।

महासचिव गुटेरेसले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दु:खद् भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्