Logo

नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ: राष्ट्रपति



काठमाडौँ, २ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरेका थिए ।

उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए । उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना-कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।

नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्