Logo

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ, २७ कात्तिक । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उनले भन्नि । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

“टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नि, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालिसकेको छ, सम्भवत: आजैदेखि बन्द हुन्छ ।”

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’मा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्