मोरङ, ९ भाद्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् ।
सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताएका हुन् ।
नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा शनिबार कोइरालाले भने, “संविधानमा केही कुरा लेखिएका छन् धर्मबारे पनि । सद्भाव खल्बल्याउने काम स्वीकार्य हुँदैन ।”
सञ्चारकर्मी नै कठिन अवस्थामा पुगेको उनको बताए । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए ।
“अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,” उनले भने, “मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ ।”
पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । “अहिले देशको राजनीति कता गएकोभन्दा पनि अफ्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ । सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन,” उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोल्नु कति उचित थियो भन्ने प्रश्न गर्दै कोइरालाले यसले अफ्ठ्यारो परिस्थिति आउने बताए ।







