Logo

नेपालमा पाँच वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै



झापा, १८ चैत । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आधारभुत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक तथा कार्यक्रमका सहजकर्ता संजिव लामा घिसिङले नेपालमा पाँच वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण धेरै भएको बताए ।

उनले २५ प्रतिशत पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताए । तथ्याङ्क अनुसार कोशी प्रदेशमा ५ वर्ष मुनिका वालवालिकाहरु २० प्रतिशत पुड्कोपन, १३ प्रतिशत कमतौलका र ४ प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको जनाइएको छ ।

प्रदेश संयोजक घिसिङले यस तथ्याङ्कले बालबालिकाहरु धेरै कुपोषित भएको र यसलाई निराकरण गर्नको लागि पोषणको एकिकृत कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने बताए ।

उनले विगतका वर्षहरुमा स्वास्थ्य क्षेत्रले मात्र पोषणका कार्यक्रम कार्यान्वयन गरेको र अरु विषयगत शाखाहरुबाट खासै कार्यान्वयन नभएकोले अब सबै क्षेत्रहरुलाई एउटै छत्रछायाँमा ल्याएर एकिकृत कार्यक्रमहरुको कार्ययोजना बनाइ प्रभावकारी ढंगले कार्यक्रमहरु गर्ने भन्ने रणनीति लिएको बताएका हुन् ।

कृषि, पशुपंछी, शिक्षा, खानेपानी, महिला तथा बालबालिका आदिसंग सम्बन्धित क्रियाकलापहरु संगसंगै पोषणको एकिकृत कार्यक्रमहरु कार्यान्वयन गर्ने उदेश्यका साथ योजना आएको भन्दै उनले यस कार्यक्रमले बालबालिका लगायत किशोरी तथा महिलाहरुको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताएका छन् ।

कार्यक्रममा बोल्दै मेयर प्रसाईले पोषण सामान्य लागेपनि महत्वपुर्ण विषय रहेको बताइन् । उनले कुपोषित भएको बच्चाको शारिरिक तथा मानसिक विकास हुन नसक्ने भएकोले पोषक तत्वमा ध्यान दिनु पर्ने बताएकी छन् । राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुने भन्दै उनले बच्चाहरुलाई आमाको गर्भमा हुँदा देखिनै कुपोषित हुनबाट बचाउनु पर्ने धारणा राखेकी थिइन् ।

स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक संजिव लामा घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ, स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्