काठमाडौँ, २९ कार्तिक । नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ ।
यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ ।






