Logo

नेपालमा भूराजनीतिक संकट निम्तियो: भट्टराई



काठमाडौँ, ८ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए । उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए ।

अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे । उनले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गरेका हुन् ।

अध्यक्ष भट्टराईले भने, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकी पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’

प्रतिक्रिया दिनुहोस्