Logo

नेपालमा माओवादी जनयुद्ध र यसका उपलब्धि



कार्ल माक्र्स भन्दा अघिका दार्शनिकले समाजको व्याख्या गरे तर बदल्ने कुरा गरेनन् । दर्शनलाई चिन्तन र वौद्धिक बिकासको माध्यम मात्र बनाए । तर, माक्र्सले दर्शनको मूल प्रश्न समाज बदल्नु हो भने ।
नेपालमा पनि कम्युनिष्ट पार्टी स्थापना भए । दर्शन र सिद्धान्तका चर्चा र बहस गरे । क्रान्तिका कुरा भए त्यस अनुसार योजना र रणनीति बन्न सकेनन् । समाज बदल्न जनवादी क्रान्तिको अनिवार्यता ठानिएन । आंशिक परिवर्तन र सूधारलाई क्रान्ति ठान्ने प्रवृति देखा पर्यो । नेपालको कम्युनिष्ट क्रान्तिकारी धार भुत्ते हुँदै गएको अवस्थामा नेकपा माओवादीको नेतृत्वले २०५२ साल पागुन १ गते बाट सशस्त्र बिद्रोह सुरु भएको हो । माओवादीले जनयुद्ध सुरु गरेको आज २३ वर्ष पुगेको छ भने यसले बिश्राम लिएको ११ वर्ष भइसकेको छ ।
जनयुद्ध नेपालमा माओवादको नयाँ प्रयोग थियो । सशस्त्र युद्धबाट सत्ता कब्जा गर्ने योजना र रणनीति पूरा हुन नसकेपनि जनयुद्धका उपलब्धि संस्थागत गर्ने शान्तिपूर्ण मार्ग अवलम्वन गरिएको छ । यस अर्थमा पनि नेपालको जनयुद्ध र माओवादको प्रयोग पुरानो माओवाद भन्दा भिन्न रुपमा स्थापित भएको हो । नेपालको जनयुद्धको इनिङ शान्तिपूर्ण रुपमा भएको छ । सशस्त्र युद्धका उपलब्धिलाई शान्ति र सम्झौताबाट स्थापित भएका छन् ।
जनयुद्ध र २०६२-६३ जनआन्दोलनको फ्यूजनबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सिद्धान्त स्थापित भएका हुन् । जनआन्दोलनको आधार नै माओवादी जनयुद्ध बनेको थियो । जनयुद्धले २००७ क्रान्ति, २०२७-२८ सालको झापा बिद्रोह, २०४६ सालको आन्दोलन र क्रान्तिलाई पूर्णता प्रदान गरेको छ ।
सामन्तवादी राज्यसत्तामा आमूल परिवर्तन शान्तिपूण मार्गबाट सम्भव हुँदैन । सामन्ती सत्ता ध्वस्त बनाउन सशस्त्र युद्धको अनिवार्यता हुन्छ भन्ने मान्यतालाई जनयुद्धले प्रमाणित गरेको छ । शहरी क्षेत्रबाट हुने जनआन्दोलन र परिवर्तन भन्दा भिन्न चेतनाका हिसावले पिछडिएको ग्रामिण इलाकाबाट जनयुद्ध सुरु हुनु नै यसको मूल बिशेषता थियो । त्यसमा पनि घरेलु र केहिथान भरुवा बन्दूकका भरमा सुरु गरिएको सशस्त्र युद्ध राज्यसत्ताको जरै हल्लायो । जनयुद्धले ठूला र शक्तिशाली भनिएका दललाई चुनौती दिएको थियो । जनमुक्ति सेना गठनदेखि कम्युन, जनअदालत गठन आधार इलाको निर्माणको अभ्याससम्म हुनु क्रान्तिको नयाँ प्रयोग थियो । माओवादी पार्टी र जनमुक्ति सेनाको प्रभावले एक प्रकारको आँधिवेरी सृजना गरेको जनयुद्धले संसार हल्लाएको थियो ।
विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको छ । यसले माक्र्सवादको प्रयोग शान्तिपूर्णमा गर्नुपर्छ भन्ने सोँच र दृष्टिकोणलाई चुनौती दिएको छ ।
जनयुद्ध आवाज विहिनका लागि आवाज बनेको थियो । जनयुद्धको प्रारम्भमा शोषक, सामन्त, जाली, पटाहा, गुण्डागर्दी बिरुद्ध केन्द्रीत हुँदा माओवादी पार्टीले जनसम्बन्ध स्थापित गरेको थियो । माओवादी जनयुद्ध जातिय, लैंगिक, क्षेत्रिय शोषण र विभेदमा परेका केन्द्रीत थियो । जातिय उत्पीडन र शोषणका बिरुद्ध जनयुद्धले नयाँ मूल्य मान्यता स्थापित गरेको थियो । आदिवासी, जनजाति, मधेसी, दलित, महिला, पिछडिएको क्षेत्रका नागरिकमा आफ्नो अघिकारका लागि संघर्षशील नयाँ चेतनाको संचार गरेको थियो ।
जनयुद्धको एक मात्र राजनीतिक नारा संविधान सभाबाट संविधान भन्ने थियो । यस नारामा काँग्रेस एमाले जस्ता सूधारवादी पार्टीपनि सहमत हुँदा दोस्रो जनआन्दोलन सम्भव भएको हो । यसैको रिणामस्वरुप नेपाल संघीय लोकतान्त्रि गणतन्त्र, समावेशी तथा धर्म निरपेक्ष राष्टको रुपमा स्थापित भएको हो । संविधानमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम जस्ता विभेदको शिकार भएका जाति र समुदायका अधिकार संविधानमा संरक्षण भएको छ भने संविधानमा समाजवाद स्थापना गर्न सकिने मान्यता स्थापित छ ।
सिंहदरबारमा भएको केन्द्रीकृत सत्ता र त्यसका अधिकार स्थानीय तहसम्म ल्याउन जनयुद्धको योगदानले सम्भव तुल्याएको हो । जनयुद्धपछि शान्ति यात्रा, द्वन्द्व र द्वन्द्व व्यवस्थापन विश्वका द्वन्द्व व्यवस्थानका लागि मार्ग दर्शन बनेको छ । संविधानमा प्रदेश तथा केन्द्रीय संसद्मा ३३ प्रतिशत महिलाका लागि संरक्षण, राष्टिपति वा उपराष्टपति, सभामुख वा उपसभामुख, स्थानीय तहका वडामा महिला र दलितको अनिवार्य प्रतिनिधित्वमा जनयुद्धको छाप देख्न सकिन्छ । संसद्मा आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, दलित, पिछडिएको क्षेत्रमा समानुपातिक प्रतिनिधित्व ज्ञारेण्टी गरिउको छ । राज्य सत्तामा सबै वर्ग र लिंगका प्रतिनिधित्व अहिलेको संविधानले सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्