कपिलवस्तु, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संघीयताको औचित्य नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औँल्याएका थिए ।
उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको देखाएको उल्लेख गरे । उनले पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको भन्दै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने बताए ।
नेपालमा अझै सम्म क्रान्ति नसकिएको हो भन्ने पत्रकारहरूको जिज्ञासामा विप्लवले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण गर्नु रहेको बताए ।







