Logo

नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू



काठमाडौँ, १६ पुस । स्तन क्यान्सरको वंशाणुगत परीक्षण अर्थात् ‘जिन सिक्वेन्सिङ’ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।

अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो । ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो’, उहाँले भन्नुभयो, ‘अब देशबाहिर नमूना पठाउनुपर्दैन ।’

यसअघि स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन परीक्षणका लागि नमूना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो । यस्तो परीक्षणले वंशाणुगत कारणले स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए/नभएको पत्ता लगाउनेछ । यसकै आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।

प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ । भारतमा स्तन क्यान्सरको वंशाणुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ । नेपालमा वर्षमा झन्डै दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा झन्डै १२ करोड रुपैयाँ परीक्षणका लागि बाहिरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यसअघि पनि सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका क्यान्सरसम्बन्धी परीक्षण प्रयोगशालामा गराउने निर्णय गर्नुभएको छ । अहिले ती परीक्षण नियमित रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्