काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।
भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”
नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरेका थिए । प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिए ।
नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उनले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पु¥याउने जिम्मेवारी पनि थपिएको बताए ।
संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उनले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताएका छन् ।
नेपालको इतिहासमा नेपाली सेनाले पु¥याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उनले व्यक्त गरेका थिए ।
संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।







