काठमाडौं, २ कार्तिक । नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।
अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७र२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।
तेस्रोक्रममा आएका कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।
नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै अमेरिकाविरुद्ध सम्मानजनक योगफल तयार पारेका हुन्।
कप्तान पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।