काठमाडौं, १५ असार । मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपाली युवा टोलीले ब्याटिङमा ऐतिहासिक प्रदर्शन गर्दै विशाल योगफल तयार गरेको छ । ओपनर प्रसिद्ध जैसीको शानदार शतक र अन्य ब्याट्सम्यानहरूको आक्रामक अर्धशतकीय पारीको मद्दतमा नेपालले इन्डोनेसियाविरुद्ध निर्धारित ५० ओभरमा ४२० रनको विशाल योगफल खडा गरेको हाे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सुरुदेखि नै विष्फोटक ब्याटिङ गरेको थियो । नेपालको इनिङ्सका नायक बनेका ओपनर प्रसिद्ध जैसीले १ सय १४ बलमा १५ चौका र १ छक्काको मद्दतमा अविजित रहँदै १ सय ३२ रनको शतकीय पारी खेले । नेपालको सुरुवात नै सानदार रह्यो । प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग पहिलो विकेटका लागि केवल ६२ बलमा १ सय ३२ रनको विष्फोटक साझेदारी गरे । परिमार्जनले मात्र २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रनको आँधीबेहरी इनिङ्स खेलेर नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।
मध्यक्रममा पनि नेपालको रन गति रोकिएन । प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग १ सय ३६ बलमा १ सय ४८ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे । रौनकले पनि आफ्नो अर्धशतक पूरा गर्ने क्रममा ७१ बलमा ८ चौका र २ छक्कासहित ८८ रन जोडे । त्यसैगरी, पाँचौँ विकेटका लागि मैदानमा उत्रिएका जोय थापाले पनि आक्रामक ब्याटिङ गरे । उनले ४१ बलमा ७ चौकासहित ५७ रनको अर्धशतकीय योगदान दिए । अन्तिममा सुगम बुढाथोकी ३९ तथा रोशन शाही १० रनमा अविजित रहँदै नेपाललाई ४२० रनको विशाल स्कोरसम्म पुर्याए ।
इन्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ विकेट लिए भने कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १-१ विकेट हात पारे । इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा सिंगापुरसँग पराजित इण्डोनेसियाले दोस्रो खेलमा भुटानमाथि जित निकालेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् ।
नेपालले चौथो तथा समूह चरणको अन्तिम खेल मंगलवार भुटानसँग खेल्नेछ । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।