Logo

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’



काठमाण्डौ, ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

अमेरिकाको डालसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएर नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमलव ४ आभेरमा पुरा गर्‍यो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट हात पारे।

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके।

यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको नेपालले दोस्रो खेलमा सुपरओभरमा हराएको थियो ।

यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ। लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्