काठमाडौँ, १९ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले थाइल्यान्डलाई १ सय २ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।
त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।
प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।