काठमाडौँ, १९ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीले एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताएका छन् ।
मङ्गलवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै प्रशिक्षक देसाईले सन्तुष्ट रहेको बताएका हुन् ।
उनले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको प्रतिक्रिया दिए ।
प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि खेलाडीहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए ।
भारतीय मूलका प्रशिक्षको देसाईको आगामनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आईसीसी विश्व कप लिग-२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्व कप छनोटमा पुगेको थियो भने धराशायी भएको नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।