काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् ।
नेपालले एक सच्चा र असल नेता गुमाएको उनले उल्लेख गरेका छन् ।
शनिबार राति ट्विटमार्फत उनले गिरिको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
“नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,” देउवाको ट्विटमा लेखिएको छ ।







