काठमाडौँ, ३० कात्तिक । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएको छ ।
बुधवार भएको खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।
यूएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि गुलशन झा र आरिफ शेखले सातौँ विकेटका लागि ६२ रनको साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिएका थिए ।
यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एकरएक विकेट लिएका थिए ।
यो जितसँगै नेपालले तीन खेलको शृङ्खलामा एक–एकको बराबरी गरेको छ ।