काठमाडौं, २९ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौं बालबालिकाका लागि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने नयाँ प्लेटफर्म शुरू गरेको छ ।
डब्ल्यूएचओले पहिलो चरणमा औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याउने तथा परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाएको एएफपीले जनाएको छ । यी ६ वटा देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका झन्डै पाँच हजार जना बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।
डब्ल्यूएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो झन्डै ८० प्रतिशत छ । धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच नभएको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानम गेयब्रेयससले बताउनुभयो ।
प्लेटफर्ममा सामेल हुन थप ६ वटा देशलाई आमन्त्रित गरिएको छ । यसबाट आउँदो पाँचदेखि सात वर्षमा ५० वटा देशमा झन्डै एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने डब्ल्यूएचओको लक्ष्य छ ।
डब्ल्यूएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये धेरैजसो सीमित स्रोत भएका वातावरणमा बस्छन् । यस्ता वातावरणका ७० प्रतिशत बालबालिकाले उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधिजस्ता कारणले क्यान्सरबाट ज्यान गुमाउने अनुमान छ ।
यो प्लेटफर्म संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्ल्यूएचओबीचको संयुक्त उद्यम हो ।