काठमाडौँ, २५ साउन । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।
बुधवार काठमाडौँमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको आरोप लगाएका थिए ।
नेता गुरुङले पश्चिममा नेटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले देशलाई सैन्य क्रीडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए ।







