Logo

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि



काठमाडौं, २७ पुष । नेपाली काँग्रेसभित्रको महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे काठमाडौँस्थित भृकुटीमण्डपमा हुने तय गरिएको छ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने मञ्च निर्माण गरिएको छ भने छ हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी अटाउने गरी कुर्सीको व्यवस्था गरिएको छ। मञ्च वरिपरि पार्टीका झण्डा, ब्यानर र प्रचार सामग्री राखी स्थल सजाइएको मञ्च व्यवस्थापन समितिले जनाएको छ।

आयोजक समितिका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलसम्म ल्याउने तयारी गरिएको छ। विशेष महाधिवेशनको सभापतित्व काँग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ भने अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण नगरिएको आयोजक पक्षको भनाइ छ।

देशभरबाट विशेष महाधिवेशनमा सहभागी हुन आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्। आवास तथा खाना व्यवस्थापन समितिले काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि बसोबासको व्यवस्था गरिएको जानकारी दिएको छ। प्रतिनिधिका लागि कार्यक्रमस्थलमै खाना र नास्ताको व्यवस्था मिलाइएको छ।

उद्घाटन सत्रपछि भृकुटीमण्डपको सभा हलमा बन्द सत्र सुरु हुनेछ। बन्द सत्रमा प्रस्तुत गरिने नीतिगत दस्तावेज र प्रस्तावहरू भने हालसम्म सार्वजनिक गरिएको छैन।

यता, काँग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गरेको छ। यसअघि नै १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएको र पार्टी विधानअनुसार अधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र रहने संस्थापन पक्षको तर्क छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विज्ञप्ति जारी गर्दै व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशन विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

यसबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विधानको धारा १७ अनुसार विशेष महाधिवेशन कानुनी बाध्यता भएको दाबी गर्दै प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरेका छन्। उनीहरूले पार्टीलाई सुदृढ र जीवन्त बनाउन विशेष निर्णय आवश्यक रहेको बताएका छन्।

गत असोज २९ गते काँग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्