काठमाडौँ, १३ बैशाख । नेपाल क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपाली क्रिकेट टोलीबारे गत वर्षदेखि नै नियालेको उल्लेख गर्दै यहाँ आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताएका छन् ।
नेपाल क्रिकेट (संघ क्यान) ले पहिलोपल्ट शनिवार एक कार्यक्रमका बीच प्रशिक्षक ललाई सार्वजनिक गरेको थियो । मोन्टी देसाइको स्थानमा दुई वर्षका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षण समाल्ने उनी शुक्रवार राती मात्र नेपाल आइपुगेका हुन् ।
पत्रकार सम्मेलनमा उनले नेपालमा आफ्नो लागि चुनौती र अवसर दुवै हुने उल्लेख गरे । आफूले ठूलो टेस्ट टिमसँग पनि काम गरे पनि अब क्रिकेट विकासमा लाग्नुपर्छ भन्ने सोच राखेको उनले उल्लेख गरे । त्यसैले नेपालमा सबैभन्दा राम्रो अवसर पाउने बुझेर यहाँ आएको प्रशिक्षक ल बताउँछन् । उनले एसोसिएट टिमहरूमा नेपाल राम्रो टोली रहेको पनि उल्लेख गरेका छन् । तर नेपाललाई केही पक्षहरूको आवश्यकता छ भन्ने आफूले बुझेकाको उनले उल्लेख गरे ।