काठमाडौँ, ११ फागुन । सरकारले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेसँगै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भर्खरै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय एकदिवसीय शृङ्खला जितेका नेपाली टोलीका सदस्यलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ४ वटै खेल जितेर शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।





