काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गरेका हुन् ।
“नेपालमा एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच्नु हुँदैन”, पूर्वप्रधानमन्त्री खनालले भने, “नेपालमा धेरै परिवर्तन पार्टी मिलेर नै भएका हुन्, संविधान जारी गर्दा होस् वा त्योभन्दा अगाडिका आन्दोलनमा होस् ।”
कृषिमा देशलाई आत्मनिर्भर बनाउँदै भूमिसुधारको काममा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने, “नेपाली जनता सही नेतृत्व छान्न सक्षम भइसकेका छन्, आउने सरकारले देशमा भूमिसुधार गर्न सकोस्, कृषिमा आत्मनिर्भर बनाउन सकोस् ।”







